हिमपातले ताप्लेजुङको जनजीवनमा प्रभाव
काठमाडाैं | चैत १८, २०७९
ताप्लेजुङ: ताप्लेजुङमा हिजोआज बेमौसमी हिमपात भइरहेको छ । पछिल्लो केही दिनयता दिनहुँजसो वर्षा हुने र वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपात भइरहने गरेको हो ।
ताप्लेजुङमा शुक्रबार साँझपछि वर्षा भएको र वर्षासँगै हिमाली क्षेत्रमा हिमपात भएको छ । स्थानीयका अनुसार शुक्रबार राति उच्च हिमाली क्षेत्रमा निक्कै बाक्लो हिउँ परेको छ । अहिले हिउँ पर्ने मौसम नभए पनि वर्षा हुनासाथ हिमाली भेगमा हिमपात भइहाल्ने गरेको स्थानीय बताउँछन् ।
जिल्लाको हिमाली बस्तीहरू फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले र वडा ७ ओलाङ्चुङगोला बस्ती, याङ्मा लगायतमा हिउँ परेको स्थानीयले बताएका छन् । फलेका स्थानीय मिङ्मा शेर्पाका अनुसार शुक्रबार साँझपछि बाक्लो हिउँ परेको छ । फलेसहित घुन्सा र ग्याब्ला बस्तीसम्म नै हिउँ परेको शेर्पाले जानकारी दिनुभयो ।
जिल्लाकै उच्च हिमाली बस्ती याङ्मा (४२०० मि.उचाइ) मा निक्कै बाक्लो हिउँ परेको स्थानीयले बताएका छन् । तीन हजार २०० मिटर उचाइ रहेको ओलाङ्चुङगोलामा पनि निक्कै हिउँ परेको स्थानीय तेन्जिङ वालुङले जानकारी दिनुभयो । यस्तै तेह्रथुम र सङ्खुवासभाको सीमावर्ती क्षेत्र गुफापोखरी, मिल्के क्षेत्रमा पनि बाक्लो हिमपात भएको छ ।
मैवाखोला गाउँपालिकाकै फाकुम्बा सिरान, मिक्वाखोलाको पापुङ तोक्पेगोला, फक्ताङ्लुङको मानाभरा क्षेत्र सिरिजङ्घाको याम्फुदिन, मामाङ्खेलगायत अधिकांश स्थानीय तहका उच्च हिमाली भेगमा हिमपात भएको छ । त्यस्तै, तीन हजार ७९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा पनि बाक्लो हिमपात भएको छ । पाथीभरा क्षेत्रको माथिल्लो फेदी बस्तीसम्म नै बाक्लो हिउँ परेको स्थानीय राजेन्द्र महतले जानकारी दिनुभयो ।
यस वर्षमा हिउँद मौसमभर हिमपात र वर्षा भएको थिएन । हिउँद मौसम सकिएपछि निरन्तरजस्तै वर्षा र हिमपात हुँदा राहत नै मिलेको किसानहरू बताउँछन् । तर बेमौसमी हिमपातले भने चिसो अझै नहटेको स्थानीयको भनाइ छ । यस्तै बेमौसमी निरन्तरको हिमपातले हिमाली क्षेत्रका बासिन्दाको जनजीवनलाई प्रभावित बनाइरहेको छ ।
यसअघि गत फागुन १४ गते हिमाली जिल्ला ताप्लेजुङमा पहिलो पटक हिमपात भएको थियो । विगतमा मङ्सिरपछि सुरु हुने हिउँद मौसमसँगै हिमपात हुने गरेकोमा पछिल्लो समय मौसम बितिसकेर बेमौसमी हिमपात हुँदा वातावरण असन्तुलित भई मानव जीवनशैली र प्राणी जगतमा असर पुग्ने बताइन्छ । यता, शनिबारको मौसम पनि धुम्मिएकाले हिमपातको सम्भावना अधिक रहेको स्थानीय बताउँछन् ।
मुस्ताङ: हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एयरलाइन्स र तारा ...
काठमाडौं: त्रिभुवन विश्वविद्यालयका १६ हजार विद्यार्थी दीक्षित भएका छन्। दशरथ रगंशालामा आज ९बिहीबार० भएको ५१औँ दिक्षान्त समारोहमा आज १६ हजार ३८० विद्यार्थी दीक्षित भएका हुन्। त्रिविबाट यस नर्ष स्ना...
काठमाडौं: कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभ...

